डिशहोम र तुषाल मल्टिभेन्युबीच साझेदारी, ग्राहकलाई जिमदेखि स्पासम्म विशेष छुट
चितवन, १६ असार । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका लेखा अधिकृत देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
डिशहोमका अनुसार ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकको जीवनशैलीलाई थप समृद्ध बनाउँदै देशभर विशेष स्वास्थ्य तथा वेलनेस सेवा र आकर्षक अफर उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै ग्राहक सहभागिता बढाउने र वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्ने उद्देश्य पनि रहेको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। यसअन्तर्गत साउना, स्टिम र जाकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ।
यी छुट सुविधा प्राप्त गर्न डिशहोमको मोबाइल एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ।

























