दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता
चितवन, २५ आषाढ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेका छन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चरम मौसमका कारण दक्षिणी र मध्य चीनका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको छ। गुआङ्सीमा लगातारको भारी वर्षापछि आएको बाढीले जनधनमा ठूलो नोक्सानी पुर्याएको छ। यसैबीच ‘बावी’ नाम दिइएको आँधी पूर्वी प्रान्ततर्फ अघि बढिरहेको जनाइएको छ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिउलन जलाशयको बाँध भत्किएपछि आएको बाढीमा मात्रै २६ जनाको मृत्यु भएको छ भने सात जना अझै बेपत्ता छन्।
उद्धार टोलीले बाढीले प्रभावित क्षेत्रमा फसेका नागरिकसम्म खाद्यान्न र राहत सामग्री पुर्याउन ठूला ड्रोन प्रयोग गरिरहेको छ। जलाशयको पानी अझै उच्च बहावमा रहेको जनाइएको छ।
चीनको सरकारी टेलिभिजन सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा बाँधको भत्किएको कङ्क्रिट संरचनाबाट तीव्र गतिमा पानी बगिरहेको र उद्धारकर्मीहरू डुङ्गामार्फत उद्धार तथा राहत कार्यमा खटिएको देखाइएको छ।
एएफपीका अनुसार बाढी प्रभावित लिउलनका बासिन्दाहरू आफ्नो ध्वस्त घर सफा गर्न र क्षतिग्रस्त सामग्री निकाल्न जुटिरहेका छन्।

























