बदलिँदो आवश्यकताअनुसार युएनडीपीसँग विकास सहकार्य चाहन्छौँ : अर्थमन्त्री वाग्ले
चितवन, ३२ आषाढ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताएका छन्।
नेपाल–युएनडीपी सहकार्यको ६०औँ वर्षगाँठका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विगत ६ दशकदेखि गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पुर्याएको योगदानको प्रशंसा गरे।
अर्थमन्त्री वाग्लेले नेपाल र युएनडीपीबीचको सहकार्य आगामी १०० वर्षसम्म निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै विकास सहकार्यलाई आर्थिक सहयोगमा मात्र सीमित नभई अन्तरदेशीय समन्वय र साझेदारीको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने बताए।
उनले वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल विकासमा युएनडीपीको योगदान उल्लेखनीय रहेको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। साथै, आफूले पनि युएनडीपीसँग जीवनको महत्वपूर्ण समय बिताएको स्मरण गर्दै सो अवसरमा युएनडीपीका नेपालमा भएका कामहरूको तस्बिर कथा समेटिएको ‘६० वर्षको सहयात्रा’ नामक फोटो पुस्तक सार्वजनिक गरे।























