नेप्से लगातार उकालो, ७.२५ अंक बढेर २७२६ मा; कारोबार ६ अर्ब ६७ करोड
चितवन, ०५ साउन । सेयर बजारमा मंगलबार पनि हरियाली कायम रहँदा नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.०९ विन्दुमा पुगेको छ। यो स्तर जेठ २८ यताकै उच्च हो।
लगातार पाँचौं कारोबार दिन बजार बढेको हो। सोमबार नेप्से ४१.७० अंकले उकालो लागेको थियो। आज कारोबारका क्रममा नेप्से दिउँसो १२ः४९ बजे २७५३ अंकसम्म पुगे पनि अन्त्यमा केही घटेर बन्द भएको हो।
आज १०३ कम्पनीको शेयरमूल्य बढ्दा १६२ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो।
समूहगत रूपमा व्यापार क्षेत्र २.८८ प्रतिशतले सबैभन्दा धेरै बढ्यो। अन्य, उत्पादन तथा प्रशोधन, लगानी र बैंकिङ समूह पनि हरियालीमा रहे। विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह भने घटेका छन्।
आज एभरेस्ट कलरको शेयरमूल्य १५ प्रतिशतले बढ्यो। कालंगा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु), सानीगढ हाइड्रोपावर, स्नो रिभर्स र रिडी पावरका शेयर पनि उल्लेखनीय रूपमा उकालो लागे। यता कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरका शेयरमूल्यमा गिरावट आएको छ।

























