ग्यास अभाव नभएको उद्योग सङ्घको दाबी, जगेडा राख्दा बजारमा अस्थायी समस्या देखिएको भनाइ
चितवन, ११ साउन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न आग्रह गरेको छ। ग्यासको आयात र आपूर्ति नियमित रहे पनि उपभोक्ताले एकैपटक बढी सिलिन्डर भर्न थालेपछि बजारमा अस्थायी अभाव देखिएको सङ्घको भनाइ छ।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी आएको छैन। उनका अनुसार हाल पनि दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ। विगतमा नेपाल आयल निगमले उपलब्ध गराउँदै आएको परिमाणकै हाराहारीमा अहिले पनि ग्यास आपूर्ति भइरहेको उनले बताए।
उपभोक्ताले भविष्यका लागि अतिरिक्त सिलिन्डर भण्डारण गर्न थालेपछि बजारमा माग बढेको र त्यसले केही स्थानमा अभावको अवस्था सिर्जना गरेको अध्यक्ष चन्दको भनाइ छ। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराखे समस्या समाधान हुने उनले बताए।
सङ्घका सदस्य विमल कालाखेतीले पनि सामान्य अवस्थामा आवश्यक पर्ने परिमाणमै ग्यास आपूर्ति भइरहेकाले अभावको अवस्था नरहेको दाबी गरे। समयमै भरिएका सिलिन्डर लिन आग्रह गरिए पनि ढिलाइ हुँदा अहिले बजारमा चाप देखिएको उनको भनाइ छ।
हाल नेपालमा करिब एक करोड ५० लाख थान एलपी ग्यास सिलिन्डर रहेको बताइएको छ। तीमध्ये करिब ५० लाख सिलिन्डर ग्यास डिपोमा रहेका छन्। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।






















