धार्मिक आकृति भएका सिक्काको प्रलोभन देखाएर ठगी गर्ने गिरोह झापामा सक्रिय, तीन पक्राउ
चितवन, १३ साउन । पुराना तामा वा धार्मिक आकृति भएका सिक्का अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह झापामा सक्रिय रहेको खुलेको छ। यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय झापाले दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगञ्जका ३१ वर्षीय नाजबुल अन्सारी, २४ वर्षीय सरफराज मियाँ तथा सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँ रहेका छन्। अन्सारी र सरफराजलाई हल्दिबारी गाउँपालिका–१, गोलधापबाट पक्राउ गरिएको हो भने साबिर मियाँलाई बाह्रदशी गाउँपालिका–७, रुपनचवारीबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार गिरोहले यस्ता सिक्का विदेश वा बजारमा करोडौँ रुपैयाँमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विश्वास दिलाउन सुरुमा सिक्का देखाउने र त्यसपछि परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अस्वाभाविक नाफा वा रातारात करोडौँ रुपैयाँ कमाइ हुने दाबीमा विश्वास नगर्न तथा यस्ता प्रलोभनमा परेर आर्थिक कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।























