अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा थप लगानी बढाउन बहुराष्ट्रिय कम्पनीलाई आह्वान
चितवन, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेका उद्योग तथा व्यवसाय विस्तार गर्न र थप रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका हुन्।
‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ,’ अर्थमन्त्री वाग्लेले भने।
अर्थमन्त्रीको आग्रहपछि कम्पनीका प्रतिनिधिहरूले नेपालमा करिब २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै नीतिगत स्थिरता कायम भए थप लगानी बढाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिहरूले जलविद्युत्, खाद्य, होटल, पेय पदार्थ, पेन्ट तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारको प्रक्रिया अघि बढिरहेको जानकारी गराएका छन्। उनीहरूले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले माउ कम्पनीबाट पुँजी भित्र्याउन सहजीकरण, आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या, आयकर ऐनको दफा ५७ संशोधन, श्रमिक कानुन परिमार्जन तथा कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर कायम गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहअनुसार फरक–फरक कर निर्धारणको समस्या समाधान, दोहोरो करको झन्झट हटाउने तथा प्रतिफल फिर्ताको प्रक्रिया सहज बनाउन पनि उनीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टसलगायत २० वटा बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरूको सहभागिता थियो।



























