मन्त्री मेहताद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित जग्गा अवलोकन
चितवन, ३१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन्।
अवलोकनका क्रममा उनले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था र आगामी प्रक्रियाबारे जानकारी लिइन्। मन्त्री मेहताले प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै यसलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
यसैगरी, मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्दै सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिइन्। उनले अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने बताइन्।
मन्त्री मेहताले अस्पतालको हस्तान्तरण प्रक्रिया भदौ मसान्तसम्म सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै हस्तान्तरणपछि आवश्यक जनशक्ति परिचालन र सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सङ्घ, प्रदेश र सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने उनले बताइन्।























