अर्थमन्त्रालय तयार भयो कर तिर्ने समय बढाउन
काठमाडौं,२१ जेठ।
जेठ २५ गतेसम्म कर भुक्तानी गर्न भनेको सरकार ब्यापक जनविरोधपछि कर भुक्तानी समय थप्न तयार भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुंगानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका छन्।
महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का उपाध्यक्ष किशोर प्रधान र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ सचिव ढुंगानासँग छलफल गर्न पुगेका थिए।
७१ दिनदेखि लकडाउन चलिरहँदा अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो। विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर ९फागुनको चौमासिक कर विवरण० बुझाउनु पर्नेछ।
यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नु पर्नेछ।
यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउन पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नु पर्ने सूचनामा छ।
विभागले आयकर ऐन, २०५८ बमोजिम २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६र७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला पनि सोही मितिसम्म गरिसक्न भनेको छ।
यस्तै आर्थिक ऐन, २०७३ को दफा ८ को उपदफा २ बमोजिम २०७३ फागुन र चैत्र महिनाको शिक्षा सेवा शुल्क, दफा १४ को उपदफा २ बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा ३ बमोजिमको दूरसञ्चार सेवा दस्तुर दाखिला गर्न सूचना जारी गरेको छ।
लकडाउन जेठ ३२ गतेसम्म निरन्तर रहने सरकारको घोषणा छ। तर कर भने २५ गतेभित्रै बुझाउने उर्दीका कारण ब्यवसायीका साथै सरोकारवालाहरु अप्ठेरोमा परेका थिए। सामाजिक सञ्जालमा सर्वसाधारणले अर्थमन्त्री डा। युवराज खतिवडाको ब्यापक आलोचना गरेका थिए।
अर्थसचिव ढुंगानाले कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल भएको जानकारी दिँदै आवश्यक निर्णय लिइने बताए।
सम्भवतः आजै साँझ सरकारले कर भुक्तानी गर्ने समय बढाउने निर्णय गर्ने छ।
विभाग स्रोतका अनुसार, त्यहाँका प्रमुखलाई अर्थसचिव र राजस्व सचिव रामशरण पुडासैनीले तारन्तार फोन गरेर समय केही थप्ने सूचना निकाल्न भनिरहेका छन्।




















