चीनमा पुनः कोरोनाको महामारी शुरु, आजमात्रै १२ सय बढीले ज्यान गुमाए
काठमाडौं,५ वैशाख ।
सारा विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ८७७ जनालाई संक्रमण भएको छ भने १ लाख ४६ हजार ८७२ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७७१ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५९१ जनाको अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः महामारी शुरु भएको छ ।
आज मात्रै चीनमा १ हजार २९० जनाले ज्यान गुमाएका छन् । धेरै दिनको अन्तराल पछि चीनमा एकैदिन यति धेरैको संख्यामा मानिसहरुको ज्यान गएको हो ।
आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको महामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ ।
चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्रमण भएको छ भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



















