रेडियो र टेलिभिजनबाटै कक्षा १० सम्मको पढाइ सुरु, कति बजे कति कक्षाको ? यस्तो छ तालिका
काठमाडौं,१ असार
लकडाउनका कारण रोकिएको पठपाठनलाई सरकारले सोमबार अनलाइन, रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरिएको छ । सबै विद्यार्थीलाई समेट्ने गरी रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको हो ।
शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले १ देखि कक्षा आठसम्मको पढाइ सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ ।विकास केन्द्रका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट पढाइने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुने उल्लेख छ ।
कक्षा ९ र १० का विद्यार्थीहरुले आवश्यक अध्ययन सामग्री केन्द्रको युट्युव च्यानल मार्फत अनुकूलता अनुसार हेर्न समेत सक्नेछन् ।जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४।६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विभिन्न विषयको कक्षा सञ्चालन भइरहेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँगको सहकार्यमा जनता टेलिभिजन, योहो टेलिभिजन, टीभी टुडे लगायतका टेलिभिजनबाट समेत नियमित कक्षाहरु सञ्चालन भइरहेका छन् ।


























