फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौँ, १२ साउन
कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ ।
साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको हो । प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साउनयता मात्र प्रतितोला सुनको मूल्य ४ हजार २ सय रुपैयाँ बढेको छ । १ साउनमा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ११ साउनमा आइपुग्दा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोे छ ।
























