वैकल्पिक विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी
महेन्द्रनगर, २२ भदौ
सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि ९अनलाइन०बाट लिने तयारी गरेको छ ।
स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ ।
“विश्वविद्यालयले कोरोना कहर त्यति छिट्टै सकिने अवस्था देखिँदैन”, उपकुलपति जोशीले भन्नुभयो, “शैक्षिक गतिविधिलाई स्वास्थ्य सर्तकता अपनाएर अघि बढाउने तयारीमा छौं ।” उहाँले आगामी असोजदेखि सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधिसमेत पास भइसकेको बताउनुभयो । “यहाँका १४ वटै आङ्गिक क्याम्पससित परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित रुपमा पनि पत्राचार भइसकेको छ”, उहाँले भन्नुभयो, “सोही अनुसार विद्यार्थीलाई पनि जानकारी भइरहेको छ ।”
विश्वविद्यालयले वैकल्पिक विधि ९अनलाइन० परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’को स्थापना गर्ने जनाएको छ । “परीक्षाका लागि इन्टरनेटको पहुँच बढाउन नेपाल टेलिकमसँग छलफल भएको छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयका हरेक गतिविधि वेवसाइडमा राख्ने काम हुन्छ ।”
त्यसैगरी विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ । त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरिएको जनाएको छ । सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ ।
परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ उपकुलपति प्रा डा जोशीले बताउनुभयो । त्यसका साथै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आगामी वर्ष एमफिल र पिएचडीको अध्यापनसमेत शुरु गर्ने गृहकार्य गरिरहेको छ । यहाँ पहिलो पटक कृषितर्फ बिएसीएजी तेस्रो सेमेष्टरमा विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।
“इन्जिनीयरिङतर्फ एमई र कम्प्युटर साइन्सको बिई कार्यक्रम ल्याउन पनि कार्यविधि बनाइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय शैक्षिक गतिविधि बढाउने गरी विभिन्न निर्देशिका र कार्यविधि बनाउने काम धमाधम भइरहेको छ ।” रासस

























