‘तीन घण्टाको परीक्षामा एक पटक मात्र शौचालय जानु, पिउने पानी आँफै ल्याउनु’
काठमाडौँ, २५ मंसिर ।
रत्न राज्यलक्ष्मी क्याम्पसले मंसिर २८ गते आइतबार देखि हुन लागेको स्नातकोत्तर तहको एमए अन्तिम सेमेष्टरको परीक्षामा सहभागी परीक्षार्थीहरुलाई तीन घण्टामा एक पटक मात्रै शौचालय प्रयोग गर्न भनेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले संक्रमण नियन्त्रणका लागि तीन घण्टाको परीक्षामा एक पटक मात्रै र दुई घण्टाको परीक्षामा शौचालय नै प्रयोग नगर्न क्याम्पसले परीक्षार्थीहरुलाई आग्रह गरेको हो ।

क्याम्पसको परीक्षा समितिले बुधबार एक सूचना जारी गरि परीक्षार्थीहरुलाई यस्तो आग्रह गरेको हो । त्यस्तै, पिउने पानीको व्यवस्था पनि आँफै गर्न परीक्षार्थीहरुलाई भनिएको छ । ‘शौचालय प्रयोग गर्दा नियमानुसार (३ घण्टाको परीक्षामा एक पटक मात्र र २ घण्टाको परीक्षामा पाइने छैन) गर्नुहोला’, सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यान दिँदै पिउने पानीको व्यवस्था आफै गर्नुहोला ।’
क्याम्पसले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि नै परीक्षा केन्द्र पुग्न, मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र परीक्षा हलभित्र मोबाइल लगायत कुनै पनि डिजिटल समान नलैजान भनेको छ । रुघाखोकी, ज्वरो एवम् स्वास्थ्य सम्बन्धि समस्या भए प्रशासनलाई खबर गर्न लगायत १६ बुंदे निर्देशन जारी गरिएको छ ।



















