नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिर
चितवन, २२ फागुन ।
नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ। बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ।
लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ। शुक्रबारदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।
बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी १९२ पदमा आवेदन माग गरेको छ। यसको विस्तृत जानकारी बैंकले शुक्रबारकाे गोरखापत्रमा सूचना निकालेर दिएको छ।
स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।






















