कोरोनाको कहर : शव जलाउन पशुपतिमा सातामै डेढ लाख किलो दाउरा खपत
काठमाडौँ ,३० वैशाख ।
पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको मृत्यदुर बढेपछि पशुपति क्षेत्र विकास कोषको आर्यघाटमा अन्त्येष्टि गर्नेको संख्या बढेको छ । दैनिक ३० भन्दा बढी शवको अन्त्येष्टि हुने गरेको । अन्त्येष्टि बढेसँगै दाउराको पनि खपत बढेको छ ।
एक सातामा संक्रमितको अन्त्येष्टि गर्दा १ लाख ५० हजार किलो दाउरा खपत भएको पशुपति क्षेत्र दाउरा डिपोले जनाएको छ । दाउरा डिपोकाअनुसार दैनिक २० हजार किलो दाउरा खपत हुने गरेको डिपोका प्रमुख द्रोण पोखरेलले जानकारी दिए ।
हिजोमात्र २८ हजार दाउरा खपत भएको हो, पोख्रेलले भने,’ मंगलबार २० हजार किलो दाउरा डिपोबाट लगिएको छ ।’ पशुपति क्षेत्र विकास कोषले दाउरा माग गर्ने गर्छ त्यहीअनुसार उपलब्ध गराउने उनले जानकारी दिए ।
दैनिक दुईदेखि तीन ट्रक दाउरा आयात भइरहेको पोख्रेलले बताए । दाउराको अभाव हुँदैन । रौतहट र धादिङबाट दाउरा आयात भइरहेको छ । शव जलाउने दाउरा प्रतिकिलो १० रुपैयाँ पर्छ। धार्मिक प्रयोजनका लागि भने प्रतिकिलो १३ रुपैयाँका दरले उपलब्ध गराइरहेको छ ।
पानी परेर बाटो खराब र बन्द भएमा मात्र दाउरा ल्याउन नसकिने उनले जानकारी दिए । जसरी पनि आयात गरिने उनको दाबी छ ।
पशुपति क्षेत्र विकास कोषका विद्युत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार शव अन्त्येष्टिका लागि ४० वटा चिता निर्माण गरिएको छ । दैनिक १० हजार देखि २८ हजार किलो दाउरा खरिद गर्ने गरेको उनले जानकारी दिए ।
‘ विकास कोषले दाउरा खरिद गरेर शव अन्त्येष्टिको व्यवस्थापन गरिरहेको छ,’ कार्कीले भने,’ निशुल्क दाउरा डिपोले उपलब्ध गराउँदैन ।’ दैनिक शव अन्त्येष्टिका लागि चिताको संख्या बढिरहेको उनको भनाइ छ ।
इकाजबाट साभार





















