यसअघिका सबै रेकर्ड तोड्दै नेप्से, परिसूचक हालसम्मकै उच्च विन्दुमा
काठमाडौं,२० जेठ ।
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा करिब १७ अर्ब रुपैयाँको कारोबार भएको छ । सेयर बजारको फराकिलो छलाङसँगै कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको हो । यसअघि जेठ १० गते सोमबार १७ अर्ब २ करोडको सेयर कारोबार हुँदै कारोबार रकमका आधारमा रेकर्ड कायम बनेको थियो ।
त्यस्तै, सेयर बजार मापक सूचकमा पनि आइतबार कायम भएको सबैभन्दा उच्च अंकको रेकर्ड एक साता अवधिमा नै तोडिएको छ । जेठ ९ गते आइतबार २७९३.९० अंकमा कायम भएको नेप्सेको रेकर्ड बिहीबार २८५६.६८ बिन्दुमा पुगेको हो । यस दिन २९.५५ अंक अर्थात् १.०५ प्रतिशतले बढ्दै नेप्से परिसूचक हालसम्मकै उच्च २८५६.६८ बिन्दुमा पुगेको हो ।
कारोबारको क्रममा बुधबार २१५ कम्पनीको २ करोड २३ लाख ९१ हजार ९४४ कित्ता सेयर कुल ११ अर्ब २२ करोड ९४ लाख २३ हजार ४५६ रुपैयाँमा खरिद बिक्री भएको थियो । जबकि साताको अन्तिम कारोबारको दिन बिहीबार भने २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर कुल १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा यो हालसम्मकै दोस्रो ठूलो रकम हो ।
उता, सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात् ७.९६ अंकले बढेर ५१३.११ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकले बजारको समग्र कारोबार मापन गर्दछ भने सेन्सेटिभ इन्डेक्सले ठूला कम्पनीको मात्र कारोबार मापन गर्दछ ।
बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण
यस दिन बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । वाणिज्य बैंक समूहले डोहोर्याउँदा समग्र बजार नै माथि गएको हो । बैंकिङ समूह ५० अंकभन्दा बढीले कारोबार भएको छ । एभरेष्ट बैंकको कन्भर्टिभलसहित कुल २५ वटाको किनबेच भएको छ । कन्भर्टिभलबाहेक सबैको सेयर मूल्य बढेको छ ।
बैंकिङ समूहमा रहेका कम्पनीको मात्र यस दिन कुल ४ अर्ब ६७ करोड ३६ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । जबकि कुल कारोबार १६ अर्ब ९० करोड ७० लाख रुपैयाँको भएको छ । यस दिन बैंक, विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । यस दिन बैंकिङ उपसमूहको सूचक २.७१ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि क्रमशः ३.७२ प्रतिशत र ३.३४ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ ।
चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन बजारमा मन्जुश्री फाइनान्स, महिला लघुवित्त, गोर्खाज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी चार कम्पनीको सेयरमूल्य ९.५५ प्रतिशतले बढेको हो ।
यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.९५ प्रतिशत, लक्ष्मी बैंक ७.७४, सप्तकोशी डेभलपमेनट बैंक ७.६०, सिटिजन बैंक इन्टरनेशनलको ७.५४, मितेरी डेभलपमेन्ट बैंकको ६.३४ र माछापुच्छ्रे बैंकको सेयरमूल्य ६.३२ प्रतिशतले बढोत्तरी भएको छ ।





















