गैँडाकोटको विकास खर्च करिब ४५ प्रतिशत मात्रै
नवलपुर, २६ जेठ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विकास खर्च आधा पनि गर्न सकेको छैन । विकास खर्चको रुपमा हेरिने पुँजीगत खर्च नगरपालिकाले चालु आर्थिक वर्ष २०७७र७८ को हालसम्म करिब ४५ प्रतिशत मात्र खर्च गर्न सकेको जनाएको छ ।
नगरप्रमुख छत्रराज पौडेलले कोभिड–१९ को कारण विकास निर्माणका कामहरु प्रभावित भएकाले पुँजीगत खर्च थोरै भएको बताउनुभयो । नगरपालिकाले पुँजीगत खर्च र चालु खर्च गरी जम्मा ५०.०१ प्रतिशत रकम खर्च गरेको भन्दै नगरप्रमुख पौडेलले पुँजीगत खर्च ४४.९५ प्रतिशत मात्रै भएको बताउनुभयो । नगरपालिकाको चालु आव २०७७र०७८ को वार्षिक बजेट जम्मा रु ९५ करोड ४८ लाख ७६ हजार ८२१ मध्ये रु ४७ करोड ८४ लाख १५ हजार २७ खर्च भएको नगरप्रमुख पौडेलले बताउनुभयो ।
पौडेलकाअनुसार चालुतर्फ रु ३१ करोड १८ लाख ७५ हजार ३५७ खर्च हुँदा पुँजीगततर्फ रु १६ करोड ६५ लाख ३९ हजार ६७० मात्रै खर्च भएको छ । नगरपालिकाले १० महिनाको अवधिमा पुँजीगत खर्च रु ३७ करोड ४ लाख ५० हजार ४५९ खर्च गर्ने लक्ष्य राखेको थियो । नेपालमा असारे विकासको रुपमा पुँजीगत खर्च हुने प्रवृत्ति अझै पनि कायम हुँदा विकास निर्माणका कामले गति लिन सकेका छैनन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा संरचनात्मक हिसाबले समस्या बढ्दै जाने सम्भावना रहने बताउनुभयो । नगरपालिकामा हालसम्म गैर आवासीय भवनतर्फ २६.६९ प्रतिशत, सडक तथा पुल निर्माणमा ५८.८ प्रतिशत, विद्युत् संरचना निर्माणमा ६१.१२ प्रतिशत, तटबन्ध तथा बाँध निर्माणमा ३६.११ प्रतिशत, सिँचाई संरचना निर्माणमा ४९.५५ प्रतिशत, खानेपानी संरचना निर्माणमा २४.३२ प्रतिशत, वन तथा वातावरण संरक्षणमा ३५.६१ प्रतिशत खर्च भएको सुवेदीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष सकिन बाँकी रहेको ३७ दिनमा नगरपालिकाले कुल बजेटको करिब ५० प्रतिशत रकम खर्च गर्नुपर्ने देखिन्छ । आर्थिक वर्षको शुरुआती महिनामा भन्दा पनि पछिल्ला महिनामा अत्यधिक योजनागत कार्य हुने र बजेट निकासा पनि सोही समयमा नै बढी हुने गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । पुँजीगत खर्च शीर्षकमा विनियोजित बजेट फ्रिज हुने त्रासका कारण समेत विकास निर्माण तथा योजनागत कार्यहरु आर्थिक वर्षको अन्त्यमा तीव्ररुपले हुने गरेका छन् ।
हालसम्म नगरपालिकाले चालु खर्चतर्फ पदाधिकारी परिश्रमिक, कर्मचारीको बैठक भत्ता, अन्य भत्ता, कर्मचारी कल्याण कोष, सामाजिक सुरक्षामा शत प्रतिशत रकम खर्च गरेको जनाएको छ । अन्य कार्यक्रम तथा शीर्षकमा तोकिए अनुसारको कुनै पनि रकम पूर्णरुपमा खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।
नगरपालिकाले हालसम्म आयतर्फ ७६.७२ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ मा रु ९५ करोड ४८ लाख ७६ हजार ८२१ प्रस्तावित आयमध्ये जेठ १० गतेसम्म वास्तविक आम्दानी रु ७३ करोड २५ लाख ८३ हजार ४०० रहेको सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाको आयतर्फ रु २२ करोड २२ लाख ९३ हजार ४२१ मौज्दात रहेको छ ।
नगरपालिकाले सङ्घीय सरकारबाट रु ३४ करोड ५६ लाख ९९ हजार ३४० प्रदेश सरकारबाट रु १ करोड ८९ लाख ८६ हजार आम्दानी गरेको छ भने राजश्व बाँडफाँडबाट रु १३ करोड ८५ लाख ३ हजार ६३३ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाले आन्तरिक श्रोतबाट रु २२ करोड ९३ लाख ९४ हजार ४२७ आम्दानी गरेको छ । जसमध्ये सबैभन्दा धेरै एकीकृत सम्पत्ती करबाट रु ८१ लाख ७३ हजार ८०३ तथा घरवहाल करबाट रु ६६ लाख ४५ हजार ९९३ आम्दानी गरेको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण विकास निर्माणका आयोजनाहरुमा काम गर्न मजदुर नपाउँदा समेत पुँजीगत खर्च प्रभावित भएको नगरपालिकाले जनाएको छ । “अवस्था सामान्य रहेको भए यस अवधिमा नगरपालिकाले पुँजीगत खर्च लक्ष्यअनुसार नै खर्च गर्न सक्थ्यो” नगरप्रमुख पौडेलले भन्नुभयो, “असामान्य अवस्थाका कारण मजदुर नपाउँदा निर्माण आयोजनाहरु प्रभावित भएर विकास खर्च लक्ष्यअनुसार खर्च हुन सकेन ।”





















