नेपाल विश्वविद्यालय निर्माणका लागि गैँडाकाेटले एक सय बिघा जग्गा दिने
नवलपुर, १७ फागुन ।
नेपाल विश्वविद्यालय कहाँ र कहिले बनाउने भन्ने विषय पेचिलो बन्दै गईरहेका बेला गैँडाकोटमा १०० बिघा जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको जनाएको छ । विशेषगरी नवलपुरमा नेपाल विश्वविद्यालय बनाउन कार्यदल एवं नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समिति सकरात्मक रहेपनि कुन पालिकामा बनाउने भन्ने एकिन हुन सकेको छैन ।
आवश्यक जग्गा उपलब्ध हुन नसक्दा वर्षौदेखि यो विषय छलफलमा नै सीमित रहेको छ । यो बीचमा गोष्ठी, भेटघाट, छलफल, अन्तरक्रिया एवं स्थलगत अवलोकनमा गरी लाखौँ रुपैयाँ खर्च भइसकेको छ । सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले यहाँ सम्भावना रहेको बताएपछि नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समिति नवलपुरका हरेक पालिका डुलिरहेको छ । सुरुवाती अवस्थामा गैँडाकोटमा मुकुन्दपुर क्षेत्रमा जग्गा दिने भनिए पनि जग्गा प्राप्त हुन नसकेपछि समिति अन्य पालिका धाउन सुरू गर्यो । समितिले देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका स्तरमा छलफल गरिसकेको छ ।
छ वर्षअघि विसं २०७४ साल असोज २५ गते गैँडाकोटमा अध्ययन कार्यदल गठन गरेपछि यस विषयमा छलफल हुन थालेपनि यसले साकार रुप लिन सकेको छैन । २०७४ चैत्र २८ गते बसेको गैँडाकोटको दोस्रो नगरसभाले यस प्रस्तावलाई समेत अनुमोदन गरेको थियो । समितिले गैँडाकोट छाडेर अन्य पालिकामा पनि छलफल चलाइरहेको छ । अहिले भने गैँडाकोट नगरपालिकाले गैंडाकोट ६, ७ र ९ मा गरी १०० बिघा जग्गा उपलब्ध गराउने तयारी गरेको छ ।
नेपाल विश्वविद्यालय पूर्वाधार तयारी समितिले गैँडाकोट नगर क्षेत्र भित्र नेपाल विश्व विद्यालय स्थापनाको लागि जग्गा उपलब्ध गराईदिन अनुरोध गरेसँगै नगरपालिका तयार रहेको जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ को हाल नापी कार्यालयबाट नाँप जाँच कार्य भइरहेको जग्गामध्ये पश्चिम तर्फबाट करिब १०० बिघा जग्गा विश्व विद्यालय स्थापनाको लागि उपलब्ध गराउन गैँडाकोट नगरपालिका सकारात्मक रहेको जनाएको छ । सो बारेको जानकारी नेपाल विश्व विद्यालय पूर्वाधार तयारी समितिमा पठाउने नगर कार्यपालिका बैठकले निर्णय समेत गरेको छ । जग्गा उपलब्ध गराउने भनिएको स्थान निर्माणाधीन विपि अन्तराष्ट्रिय खेलग्राम नजिक नारायणी नदी किनार पर्छ ।



















