होटल पौवा, अव पोखरामा
पोखरा , ९ चैत । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११ औं शाखा सञ्चालनमा ल्याएको हो । पौवाको ११ औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उदघाटन गर्नेछन् । विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको औपचारिक शुभारम्भ गर्न लागेको हो । शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन् ।’ ज्ञवाली भने ।
‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले भने, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफुहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं । हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’
पोखरामा पौवाको प्रवेश
सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको जनाइएको छ । प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’




















