यी हुन् पोखरामा सम्पन्न रोड रेसिङ च्याम्पियनसिपका विजेता
काठमाडौँ, १२ चैत | पोखरामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको सो च्याम्पियनसिपमा नोभिस र नेसनल गरी दुई क्याटागोरीमा बाइक राइडरहरु प्रतिस्पर्धा गरेका थिए । सो च्याम्पियनसिप अन्तर्गत नेसनलतर्फ आशिक लामा प्रथम, राजकुमार कार्की द्वितीय र उकेश थापा तृतीय भए । त्यसैगरी नोभिसतर्फ निमेश ठकुरी प्रथम, दिलिप दनुवार द्वितीय र मुंगेश जोशी श्रेष्ठ तृतीय भए ।
विजेताहरुलाई प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदस्य दीपक मनांगे र अन्य अतिथिहरुले पुरस्कार वितरण गरे । पोखरा रंगशालामा शुक्रबार क्वालिफाइङ राउन्ड भएको थियो भने शनिबार फाइनल राउन्ड भएको थियो । मोटर स्पोर्ट्स नेपाल र पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।
सो इभेन्टलाई मोटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ एफआईएम तथा नासा नेपालको समेत सहयोग रहेको छ । विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको अवसर प्रदान गरिने बताइएको छ । विजेता खेलाडीलाई नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । देशभरका राइडर सहभागी सो प्रतियोगिताको मुख्य प्रायोजक यामाहा आर १५ सिरिज रहेको छ ।