लघुवित्तमार्फत सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ : सांसद कार्की
नवलपुर, १८ चैत ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर २ का सङ्घीय सांसद विष्णुकुमार कार्कीले महिलाहरुलाई लघुवित्त वित्तीय संस्थामार्फत सहुलियत कर्जा उपलब्ध हुनुपर्ने बताउनुभएको छ । कावासोतीमा शनिबार आयोजित वित्तीय साक्षरता राष्ट्रिय अभियानको उद्घाटन गर्दै सांसद कार्कीले विभिन्न बैंकहरुले महिलाहरुलाई पाँच प्रतिशतमा कर्जा दिएकाले त्यो कर्जा लघुवित्तमार्फत आउनुपर्ने बताउनुभएको हो ।
लघुवित्तहरु घरघरमा पुग्ने भएकाले लघुवित्तमार्फत सहुलियत कर्जा उपलब्ध गराउन आफूले संसद्मा विषय उठाउँदै अर्थमन्त्रीसँग कुरा गर्ने कार्कीले बताउनुभयो । हरेक जिल्लाका लघुवित्तमा सहभागी महिलाहरुलाई सीपमूलक तालिम दिँदै उनीहरुलाई उत्पादनसँग जोड्नुपर्ने कार्कीको भनाइ छ । “लघुवित्तले प्रत्येक जिल्लामा महिलाहरुसँग छलफल गरेर तालिम दिँदै लघुना तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ” उहाँले भन्नुभयो, “कुन वस्तु कति उत्पादन गर्दा स्वदेशमा खपतसँगै विदेश निर्यात गर्न सकिन्छ यो बारेमा सिकाउनु पर्छ ।”
“विभिन्न बैंकहरुले जुन पाँच प्रतिशत व्याजमा ऋण लगानी गर्छन्, त्यो रकम लघुवित्त मार्फत तपाईंहरुको हातमा पु¥याउने काम म सङ्घीय सांसदको हैसियतले कम्मर कसेर गर्न लागिपर्नेछु ।” लघुवित्तसँग सहकार्य गर्दै महिलाहरुलाई आवश्यकताअनुसारको तलिम प्रदान गर्नका लागि आफू सहकार्य गर्न तयार रहेको कार्कीको भनाइ छ । सहकारीको व्याजदर महँगो भएको भन्दै कार्कीले त्यो व्याजदर घटाउनुपर्नेमा जोड दिनुभयो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गाउँगाउँमा रोजगार सिर्जना गर्न र वित्तीय पहुँच पु¥याउन लघुवित्तको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध गैरकानुनी रुपमा गरिने विरोधलाई रोक्नका लागि केन्द्रबाट निर्देशन आएको भन्दै उहाँले त्यस्ता कार्यविरुद्ध कडारुपमा प्रस्तुत हुने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाका साथै कार्यरत कर्मचारीको सुरक्षाका लागि स्थानीय प्रशासन सचेत भएको लम्सालको भनाइ छ ।
कार्यक्रममा सहभागी लघुवित्तका ऋणीहरुले कर्जाको सही सदुपयोग गर्न सकेको अवस्थामा कहिल्यै अप्ठ्यारो नपर्ने बताए । साना उद्यमीलाई लघुवित्त आवश्यक रहेको भन्दै सीता भुसालले जुन प्रयोजनका लागि ऋण लिएको हो सोही प्रयोजनमा प्रयोग हुनुपर्ने बताउनुभयो । लघुवित्तहरुले केही ऋणीका कारण सबै ऋणीहरुलाई खराब नियतले हेर्न नहुने भुसालको भनाइ छ ।
लघुवित्त बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष एवं विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले विना धितो ऋण लगानी गर्ने एकमात्रै संस्था लघुवित्त भएको बताउनुभयो । “लघुवित्तहरुले समूह जमानीमा बसेर बिना धितो ऋण लगानी गर्दै आएको छ” उहाँले भन्नुभयो, “लघुवित्तको कामनै पैसा लगानी गर्ने र असुली गर्ने भएकाले ऋण सङ्कलन गर्न पुग्ने कर्मचारीलाई दुव्र्यवहार गर्नु गैरकानुनी कार्य हो ।” लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाटै वार्षिक १५ प्रतिशत व्याजदर असुल गर्न अनुमति भएको भन्दै लम्सालले सोभन्दा बढी व्याजदर लिएको भेटिएमा कारबाही गरिने बताउनुभयो ।
साक्षरता अभियान सुरु हुनुअघि कावासोतीको फलफूलचोकबाट कार्यक्रमस्थलसम्म जानकारीमूलक प्लेकार्डसहित ¥याली निकालिएको थियो । लघुवित्त संस्थाहरु विरुद्ध विभिन्न भ्रमहरु फैलाइएको भन्दै गाउँगाउँबाट लघुवित्तका सदस्यहरु ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुले ‘वित्तीय संस्था चाहिन्छ’, कर्जाको सही सदुपयोग गरौँ’, ‘इमान्दार सदस्यको पहिचान बनौँ’, ‘नकारात्मक भ्रम बन्द गरौँ’लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख युवराज गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्लामा कार्यरत विभिन्न २७ वटा लघुवित्त वित्तीय संस्थाका कर्मचारी तथा सदस्यहरु सहभागी थिए ।


















