नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
काठमाडौँ । सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई आज यहाँ सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गरेका हुन् ।
विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उनले उक्त फाउण्डेशनको प्रशंसा पनि गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्व सामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई उहाँले सुझाव पनि दिए ।
विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् । नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरूबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।