सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
काठमाडौं , १४ साउन । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । रातोपुलस्थित घरमा मृत फेला परेका उनको मोवाइलमा सुसाइड नोट फेला परेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न आग्रह गर्दै लेखेको झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई सबै गल्ती आफ्नै भएको बताएका छन् । प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् ।
ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो । घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् । उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् ।