रत्नपार्क- सूर्यविनायक अब द्रुत बसमा सररर
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आज बसको सुरुवात गरेको हो। काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका थिए । द्रुत बस सेवा सूर्यविनायक(रत्नपार्क रुटमा चल्ने छ । आज उदघाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५-५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।