राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।
मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्कासन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट–अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।