विवादास्पद अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ
विराटनगर । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ‘धर्मगुरू’ आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ। सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो। श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए। हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले दिएको अभिव्यक्तिको भिडिओ सामाजिक संजालमा भाइरल भएको थियो। श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए। ‘केही कुरा बुझ्नुपर्ने भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने।