बझाङमा भुकम्पका एक सय परकम्प : तीन दिन विद्यालय बिदा
प्रकाशित मिति: बुधबार, आश्विन १७, २०८० | १४:५८:५२
बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ । मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयकाे पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो । बुधबार बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ ।
भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन् । यहाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १६ घण्टामा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन् ।
प्रकाशित मिति : बुधबार, आश्विन १७, २०८० |
१४:५८:५२
1937