बच्चा बेच्ने डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा
विराटनगर । अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध मुद्दा दायर भएको छ । विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा बिक्री गरिएको घटनामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्रि राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशी विरुद्ध मुद्दा दायर भएको हो ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार गरेर ६ जनालाई अभियुक्त बनाएर सोमबार मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले इजलासमा प्रतिवादीहरुको बयान मंगलबारबाट सुरु हुने जानकारी दिए । अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।
अविवाहित युवतीले गत असार १४ गते जन्माएको छोरीलाई जन्मनासाथ अस्पतालबाटै गायब पारिएको थियो । प्रहरीको अनुसन्धानबाट डा. तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो । मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा अविवाहित युवतीलाई थाहै नदिइकन उनका प्रेमी गोविन्द, डा. तपेश्वर० र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ ।