सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण देखाएर स्थगित गरिएको छ । असोज महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाइ स्थगित गरेको थियो।
जिल्ला अदालतका ३० फाँटमध्ये आज २१ वटा फाँटमात्रै इजलास बस्ने छ। ९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन। ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेकोले न्यायाधीस अभाव रहेको अदालतले जनाएको छ। लामिछानेविरुद्धको मुद्दाको सुनुवाई पटक पटक स्थगित हुँदैं आईरहेको छ । जसकाकारण न्यायाधीसहरु नै उनको मुद्दा हेर्ने भन्दा पन्छाउने तिर लागेको आरोप लाग्न थालिरहेको छ ।
काठमाडौं जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ। ‘आज उपस्थित हुनुभएका २१ जना न्यायाधीशले गोला थुत्दा उहाँहरूको इजलासमा त्यो मुद्दा परेन,’ अदालत स्रोतले भन्यो ।