इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो
काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ : ३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” उनले भने ।
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा- ३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन – ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम- ५ का दीपेशराज विष्ट, धनुषा सापही- ६ का आनन्द शाह, कैलाली घोडाघोडी- ४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली- ३ का राजन फुलारा, तथा कैलाली बौनियाँ- ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त- ३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो । डोटी लामीखाल- ८ का पदम थापा, डोटी पचनाली- ३ का राजन फुलारा र सल्यान सारदा- ३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए ।