५.८ रेक्टरको पराकम्पले जाजरकोटमा सडक अवरुद्ध
जाजरकोट । सोमबार गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ।
प्रहरीको सञ्चार शाखाले एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएको जानकारी दिएको छ । अन्य विवरणहरू भने आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ।
सडक अवरुद्ध हुँदा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री रोकिएका छन्। सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा महसुस गरिएको छ।
यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो।