तिहारमा जुवा खेल्दा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको समयमा जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जारी गरेको विज्ञप्तिअनुसार जुवा खेलेको आरोपमा १६५ जना पक्राउ परेका हुन् ।
यो संख्या दसैं सकिएपछि अर्थात कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको हो । तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो । जहाँबाट १३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको छ ।
त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको हो । यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ । पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ ।