दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ७ गते दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर बनाउने बताएका छन । प्रसाईको नाम नलिई ओलीले प्रतिक्रियाबादी शक्तिहरुले उकासेको भरमा कसैकसै व्यक्तिले देशभरबाट मान्छे काठमाडौंमा उतार्न लागेको बताए । ओलीले भने, ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो ।’
शनिबार पार्टी केन्द्रीय कार्यालयमा जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गदैं ओलीले आफनो पार्टी निकट विधार्गी युवाहरुले सांकेतिक विरोधमा मात्र कार्यक्रम राखिएको बताए । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न त्यसदिन कार्यक्रम राखिएको र त्यो कुनै ब्यक्ति विशेषको विरोधमा कार्यक्रम नराखिएको ओलीले प्रष्टाए । ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, ओलीले भने ।