विपिन जोशी सकुशल रहेको पुष्टि
काठमाडौँ । हमास समुहले इजरायल माथि गरेको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुर भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ ।
हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए ।
त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपालिका– ३ का वीरेन्द्र चौधरीसहित दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले यसअघि नै उद्धार गरिसकेको छ । परराष्ट्रमन्त्री साउदको पहलमा उनलाई खोज्ने कार्य जारी रहेको छ ।