बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह
काठमाडौँ, २२ मंसिर । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले आज एक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेकाे छ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन । तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चाैरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिदिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गर्ने सूचनामा उल्लेख छ ।