उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग सांसद चौधरीको माग
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाई गरेकाले उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरे । ‘नवलपरासी पश्चिमको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ ।
तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसान अन्योल र मर्कामा परेका छन् ।’ उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा उद्योगले खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको चौधरीले बताएका छन् ।