सन्दीप लामिछाने विरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा
काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीपविरूद्धको मुद्दा अन्तिम बहसका लागि पेशी चढेको हो। आजको पेसी सूचीमा उक्त मुद्दा पहिलो नम्बरमै परेको छ । पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए । पिडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन । यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।