सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन ।
बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ । बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए । सापकोटापछि प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ । बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।