काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार
काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि विभिन्न समारोहको आयोजना गर्दै यो पर्व मनाएका छन् । काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरु बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् । तमु ल्होसारको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।