१० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारको निधन
काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो । ‘नर्भिकमा आज (आइतबार) ४ बजेतिर उहाँको निधन भएको रहेछ,’ मेयर महर्जनले भने । व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए ।
गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए । व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो । त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए । स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए ।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका थिएनन्। वडाबासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेका थिएनन् ।
लगभग आधाजसो चुनाव त उनले निर्विरोधै जितेका थिए । राजनीतिमा आउनुअघि उनी नारायणहिटीमा निर्माणको काम गर्थे । पञ्चायत कालका वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। उनलाई बहुदल आएलगत्तै २०४९ सालको चुनावमा लड्न नेपाली कांग्रेसले टिकट दियो। त्यसबेला पानि उनले निर्विरोध वडाध्यक्षको पद हासिल गरे । २०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन । कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न केसैले रोकेन । उनलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए । उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते ।
त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो । २०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।