सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | १२:३९:४७
काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ । स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
१२:३९:४७
3235