मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
काठमाडौँ । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएका थिए । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै छ ।