गृह मन्त्रालयले जारी गर्यो सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन
काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम–कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।
निदेएशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय समेटिएको छ । गृहमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भएरनभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह पनि गरेका छन् ।