यस्तो छ कतारी राजा अल थानीको सुरक्षा प्रबन्ध, पहिलो घेरामा नेपाली सेनाको कमान्ड
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल नै स्वागतका लागि जाने निधो गरिएको कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा घेराको कमान्ड नेपाली सेनाले गर्ने भएको छ । राजा अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार साँझ ५ बजेर ३५ मिनेटमा विमानस्थलमा उत्रिनेछन् । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई क श्रेणीको सुरक्षा दिइएको हो । यसअघि यस्तो सुरक्षा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइएको थियो ।
विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पाश्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ। यसबाहेक नेपाल प्रहरीका उच्च अधिकारीसहितको सुरक्षा टोली र सशस्त्र प्रहरी अनि राष्ट्रिय अनुसन्धान विभागका अधिकारी खटाइने छ । प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ ।
सेनाले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देलको नेतृत्वमा एकीकृत सुरक्षा समन्वय समिति समेत गठन गरेको छ । सिग्देल नेतृत्वको समितिको मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको उपसमिति समेत गठन गरिएको छ । नेपालस्थित कतारको राजदूतावासले पनि छुट्टै सुरक्षा टोली परिचालन गर्ने तय भएको छ ।