हुन्डाईको एसेम्बलिङ प्लान्ट नवलपरासीमा, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडाैं । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को उद्घाटन गरिएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवलपरासीमा रहेको प्लान्टको उद्घाटन गरेका हुन् । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धि यात्रामा आगाडि बढाइने बताए ।
निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यविना देशको अर्थतन्त्र सबल हुन नसक्ने भन्दै प्रधानमन्त्री दाहालले अनि मात्र उत्पादकत्व वृद्धि, रोजगारीका अवसरहरू सिर्जना हुन सक्ने बताएका थिए । प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।”
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । नेपालमा नै एसेम्बल गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत् खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ थियाे ।