संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरूबीचको बैठकमा सहकारी प्रकरणको अनुसन्धान समिति बनाउन सकारात्मक भएको नेताहरूले बताएका हुन् । छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताए ।
‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने । संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ । नेपाली कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए ।