‘टीओआर’मा सहमति जुटाउन सिंहदरबारमा कार्यदलको बैठक जारी
चितवन , १२ जेठ । सहकारीको वचत रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो । कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताउँदै आएको छ । आज यसअघि सत्ता पक्षले रवि लामिछानेको नाम उल्लेख नगरी उनको नाम जोडिएका सहकारीहरुको नाम उल्लेख गरेर संसदीय छनबिन गर्ने विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।