ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी
चितवन , १९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् । सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको एवम् सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरुलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘कहाँ, कसरी चलाउने रु कति छेउसम्म जाने रु कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने रु भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ ।’
ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेकोसमेत बताइन । उनले भनिन्, ‘कानून विपरीत कसैले काम गरेको छ भने त्यसलाई कानूनबमोजिम कारबाही गर्न आवश्यक छ । तर नागरिकलाई पीडा दिनका निम्ति हाम्रा कार्यहरु हुनु हुँदैन ।’ समाजमा अझै पनि प्रहरी भनेपछि डराउने प्रवृत्ति रहेको भन्दै उन प्रहरीलाई नागरिकको सेवा गर्ने राष्ट्र सेवकको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रहरूले यो कुरामा सहजीकरण गर्दै आएको भन्दै उनले समुदाय र प्रहरी मिलेर समुदायको काम अगाडि बढाउने कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने समेत बताइन् ।
केन्द्रका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेश सभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले सामुदायिक सेवा भावले संस्थाहरु अगाडि बढ्नुपर्ने बताएका थिए ।