तीन संसदीय समितिको बैठक बस्दै : मिडिया काउन्सिल विधेयकबारे छलफल हुने
चितवन, ३१ जेठ । संघीय संसद्का तीन समितिको बैठक बस्दै छ । संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्ने गरी बोलाइएको छ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्न सवा बाह्र बजे बस्दै छ । समितिकै सभा हलमा बस्ने बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने समिति सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ ।